10/08/2024
"धैर्य, विबेक र सफलता"
आचार्य चाणक्यले एक दिन बिहानै आफ्ना शिष्यहरुलाई एक एक वटा बाँसको टोकरी दिएछन् र भनेछन - "खोलामा गएर सन्ध्या स्नानका लागि टोकरी भरी पानी लिएर आउ।" बाँसको टोकरीमा पानी अडिने होइन तर गुरु आज्ञा पालना गरौं न त भन्दै शिष्यहरु खोलामा गएर पटक पटक टोकरी डुबाउँदै पानी भर्न खोजेछन् । खोलाबाट निकाल्ने बित्तिकै पानी चुहिएर टोकरी रित्तिंएछ।
अब यो हुने चाल होइन भन्दै अरु सबै शिष्यहरु टोकरी लिएर फर्किएछन् तर एक जना फर्किएनछ । अनि उसले दिनभर टोकरी पानीमा डुबाएर बसेछ । फलतः टोकरी भिजेकाले विस्तारै चोया र डण्डीहरु ढाडिएर फुलेछन् अनि सबै प्वालहरु थुनिएर टोकरी चुहिन छोडेछ । त्यसपछि उसले टोकरी भरी पानी भरेर लिएर गएछ।
गुरुले सबै शिष्यहरुसँग सन्ध्या स्नानका लागि टोकरीमा ल्याएको गंगाजल मागेछन्। सबै शिष्यहरुले टोकरीमा पानी ल्याउन असम्भव भएकाले आफूहरूले पानी उपलब्ध गराउन नसक्ने बताएछन् । उनीहरू गुरुसँग विवाद गर्न थालेछन्। त्यसै बखत एक जना शिष्य टोकरी भरी पानी लिएर टुप्लुक्क आइपुगेछन् र गुरुलाई दिएछन् । उनले गुरुको आदेश अनुसार टोकरीमा पानी भर्न सक्नुको रहस्य बताएछन्। आचार्य चाणक्यले सबै शिष्यहरुका बीच उसलाई धन्यवाद दिंदै भनेछन् - " हेर बाबुहरु विवेक, धैर्य र लगनशीलताका साथ निरन्तर काम गरिरह्यो भने कुनै पनि काम असम्भव हुँदैन।"
साभर